Wednesday, August 05, 2015

म पनि टुइटे - भाग १

जिन्दगिमा कम्प्युटर सङ नाता नजोडेको "लछुमनेले" कसरी गर्यो इमेल? कसरी चलाउन थाल्यो फेस्बुक र टुइटर? हो यहि कथा हो मेरो।आजको दिनमा हो म पनि टुइटे हुं!

शैक्षिक मुग्लानिमा भारत भासिएपछी घरपरिवार सङ कुराकानिको माध्यम फोन बन्यो। विद्यार्थी जिवन घरको याद आइरहने हुँदा तारमतार फोनमा कुरा गर्दा मुस्किलनै हुन्थ्यो।होस्टेलमा फोन सुबिधा नभएको कारण घरबाट फोन गर्न मिल्ने कुरा थिएन। यसर्थ आफैले फोन गर्नुको बिकल्प थिएन। उनताका भारतबाट फोन गर्दा निकै चर्को शुल्क लाग्थ्यो। फोन बुथका मिटरमा सेकेन्ड सुइ उकालो लाग्दा उहीँ अनुपातमा आफ्नो गोजि ओरालो लाग्थ्यो। जिवनमा हर सेकेन्डको महत्व बुझ्न यो काफी थियो मलाइ। "गोजि अनुसारको खोजी" को बिकल्प बन्यो ईन्टरनेट। भारतमा र नेपालमा पनि भर्खरै यो ईन्टरनेट भन्ने जिनिस आएको थियो। आइएस्सी सकेर MBBS पढ्न सुरुगर्दा सम्म मैले कम्प्युटर बारे खासै जानकारी राखेको थिइन। स्कुलमा सायद एउटा कोठामा छोपेर राखिएको जिनिस कम्प्युटर हुन र भाइरस लाग्न नदिन प्लास्टिकका सिरक ड्सना भित्र तीन पत्रे धुलोमा जकडिएको हेर्न जादा जुत्ता खोलेको युगको मलाइ धेरै ज्ञान् हुनु पर्ने कुनै कारण पनि थिएन। उसबेला माड्साप्ले कम्प्युटर देखाउने भनेर प्लास्टिक उघारे धुलो स्कृन पुछे र हतार हतार प्लास्टिक ओढाइदिए। सायद भाइरस लाग्ला भन्ने डर थियो उनलाइ पनि!

घरमा इमेल चलाउन जान्ने को पो थिए र? कस्लाइ लेख्नु इमेल भन्ने सोचले बिरक्तिएर रांची सहरको भर्खरै खुलेको कम्युनिकेशन सेन्टरमा ठोक्किए। उ बेलाको मेरो हबिगतमा मेरो मर्का उसले बुझ्नै चाहेन। " हं आइडी क्या है? किसको भेज्ना है?" भन्दै मेरो फोनको बिल बचाएर चिट्ठीको बिकल्प खोज्ने सोचमाथी अन्दधुन्ध प्रहार गरिदियो। निरास भए तर हिम्मत हारिन। एक कप कडक चिया पिएर होस्टेल फर्किए।फोन बिल सम्झदा भाउन्न भएर आउथ्यो। साहस बटुली वरि एकजना गाउले दाजुलाइ फोन गरे। उन्ताका आइएन्जिओ मा काम गर्ने र मोटर्साइकलमा अफिस जाने उनी हाम्रो काठमा ठुलै मानिस थिए। उनलाइ अफिसमा इमेल पठाउन सकिने टुंगो लाग्यो। यो इमेलको चक्कर र यस्को संजाल साधारण अर्थमा बुझेपछी मलाइ लाग्यो अब गएर कम्युनिकेशन वाला कहाँ अस्ति गुमेको इज्जतको अंश भरताल माग्नेछु। त्यो दिन कुनै पनि हालतमा आफ्नु काम फत्ते हुनुपर्छ भन्ने दृढनिस्चयताका साथ कम्युनिकेशन सेन्टर छिरे। हिन्दुस्तानी साथिहरुबाट गुरु मन्त्र लिएकै थिए। मैले उसै गरे। खल्तिबाट आइएन्जिओको दाजुको इमेल आइडी लेखेको कागजको चिर्कटो तेर्स्याउदै आफू मेडिकल स्टुडेन्ट भएको जानकारी गराए। उ बुहारी झारझै नम्र भयो। उन्ताका रांचिमा मेडिकल बिध्यार्थीलाई इज्जत दिइदो रहेछ र आज पनि उस्तै छ। सरकारी कलेज उस्माथी पूरा सहरको इलाजको बोझ बोकेको अस्पतालका डाक्टर र बिध्यार्थिलाइ साच्चै सहरले इज्जत गर्थ्यो। उसले नम्र भएर मेरा कुरा सुन्यो र समस्याको हल बतायो। मेरो दिमागमा टेलिफोन बुथ भित्रको पल्स पिलिक पिलिक गर्यो र मुसुक्क हांसे। मैले उसको इमेल आइडी प्रयोग गर्ने र उसले गाउले दाजुको आइडिमा मेल पठाउने। गाउले दाजुले मेरो मेल प्रीन्ट गरेर घर पुर्याउने र मेरो मेल आएमा तेसको प्रीन्ट मलाइ दिने। उसले थप्यो एक पेज मेल पठाएको १५/- र एक पेज मेल प्रीन्ट गरेर मलाइ दिएको रु १०/- भारु। एक मिनेट फोन बिल ४५ भारु तिर्ने मलाइ यो सौदा जायज लाग्यो। तैपनी मैले बार्गेनिङ गरे १०/- र ५/-  उसले आफ्नो पीडा पोख्यो कलकता डाएल गरेर नेट चलाएको रहेछ। "एस्टिडी बिल कौन भरेगा?"  तैपनी १५/- ७/- को रकम तय गरेर बत्तिदै म होस्टेल फर्किए।

म गोलि बारुद नपड्काइ युद्द जितेको महसुस गर्दै थिए। अचानक याद आयो टाइप चै कसरी गर्नी हो यो कम्प्युटरमा? ठुलै फसाद आइपर्यो।"यत्रो काम त फत्ते भो यो पनि पार लाग्छ 'लछुमने' बिचलित नहो " अन्तरमनले ढाडस दियो। अँखा बन्द गरेर आफुले पढेको स्कुल र संचालकका तीन पुस्तेलाइ सरापे। "साला! समोसा पकाउन र मस्यौरा बनाउने पुर्बब्याब्साहिक शिक्षाको बदला कम्प्युटरमा टाइप गर्न सिकाइदेको भए आज लछुमनेको सान कत्रो हुन्थ्यो होला"  सोचे अब कम्प्युटर सिकरै छाड्छु।

मेडिकल कलेजको दोस्रो महिनाको बिध्यार्थी, पढाइको चाप, तेसमाथी र्यागिङको भय। नितान्त होस्टेलमा कैदी जीवन बिताउन पर्ने मैले ठुलै रिस्क मोलेझै लाग्यो कम्प्युटर सिक्ने हुटहुटी। मनलाइ बुझाए! कम्प्युटर पूरा थोडी न सिक्ने हो? टाइप गरेर मेल पठाउन जान्नु सम्म त हो नि। अनि क्यालेन्डरमा रातो धर्को लगाए बिदाको दिन आइतबार ४ घण्टा टाइप गर्न सिक्ने। तर समस्या थियो जाने कहाँ ? अरिङालको चाल बुझ्न गोलो नजिक जानू भने जस्तै म पनि कम्प्युटरको नजिक पुगिसकेको थिए तर उस्ले सिकाउला नसिकाउला दोधारमा थिए। दुइवटा कम्प्युटर थिए उस्का। एउटामा उ जतिखेर घोप्टिएर टाइप गरिरहेको हुन्थ्यो ठ्याक्कै मन्डपा भेटिने टुइटे जस्तै घोप्टे भन्न मिल्ने। अर्कोमा उसका ग्राहक इमेल पठाउदै हुन्थे। उ स्कुलका प्रश्नपत्र थेसिस लगायत अन्य टाइप गर्ने काम गर्दो रहेछ्। अब म जस्तो अनाडिलाइ झेल्नु अर्को काम थपिएको थियो उसको।

आइतबार बिहान २ पन्ना कागजमा घरमा पठाउने इमेल भन्दै अङ्ग्रेजीमा सफासङ लेखेर म जिवनकै पहिलो इमेल गर्न कम्यिनिकेशन सेन्टर पुगे। हुन त म आफ्नो रुवाइ नेपालिमै रुन चाह्न्थे। कहिल्यै घर नछोडेको कान्छो छोरो अचानक होस्टेलको १०x१० फिटको कोठाको ५x ३ फिटको खाटमा नजरबन्द भएको र्यागिङको पीडा म नेपाली आसुमा नै रुन चाहन्थे। भोक लग्यो भन्दा २४ सै घन्टा परिकार बन्ने आमको भान्सा र घडिको सुइमा खुल्ने र बन्द हुने क्यान्टिनको विभेद म नेपालिमै पोख्न चाहन्थे। कसैसङ नेपाली बोल्न नपाउदा आफैसङ गरेका मनोबाद म नेपालिमै उतार्न चाह्न्थे। तर टाइप धरी गर्न नजान्ने मलाइ नेपालिमा मनको बह पोख्नु दिवा सपना मात्र थियो।

मलाइ देख्ने बित्तिकै उसले ग्राहाक वाला कम्प्युटर अन गर्‍यो। डेस्क्टपमा भएको एउटा आइकन थिचेर मेल लेख्न मिल्ने ठाउसम्म बतायो र भन्यो अब बसेर टाइप गर र यो सेण्ड बटन क्लिक गर। हुन त उसले मेरो नाडी छामी सकेको थियो। कस्लाइ पठाउने भन्दै मेरो हातको चिर्कटोको आइडी नियाल्दै आफैले टाइप गरेर बिषयमा" मेल फ्रोम राचिं " लेखिसकेको थियो। उसले अब बसेर मेल लेख भन्दा मेरो पैताला देखि टुप्पि सम्माका एक एक रौ हल्लिएका थिए। अज्ञानताको एक भेल पसिनाले मेरो शरीर लपक्क भिजिसकेको थियो। कि बोर्ड छोएर हिनताको करेन्टको झट्कामा म बेहोस हुन चाह्न्नथे। मैले सच्चाइ बताइदिए " मलाइ टाइप गर्न आउदैन "

यसपल्ट उस्ले गाली गरेन।मलाइ हेयाउने हाउभाउ पनि कहि कतै देखाएन। भन्यो मेरो काम सकिएपछी म आफै टाइप गरेर पठाइदिउला तर पैसा जम्मा गरेर जा। मैले १५/- भारु जम्मा गरे र १.६ ले गुणा गरे र आफैलाइ भने फोन भन्दा कति सस्तो कति! हो मैले जिन्दगिको पहिलो इमेलको बिल काटिसकेको थिए। बक्यौता भएपो इमेल जाला कि नाइ चिन्ता गर्नु। नगदिमा जम्मा गरेपछी म बिस्वस्त थिए। मेरो आँखा फेरि उसको कम्प्युटरमा ठोक्कियो। मन कोक्याएर आयो। उसको भन्दा आधा स्पिडमा मात्र भए पनि टाइप गरेको दिन २ थाल भात खाएर बुढानिलकण्ठ आसनमा सुत्छु जस्तो लाग्यो। म टाइप गर्न पनि सिकाइदेउ भन्न चाह्न्थे तर हिम्मत जुटाउन सकिरहेको थिइन। दिमागमा खरायो र कछुवाको कथा याद आयो। मैले आफुलाइ कछुवामै सिमित गरे। ह्या होस अर्को हप्ता बिस्तारै भनम्ला भनेर मनलाइ ढाड्स दिए। मन स्थिर थिएन। दिमाग घरी घरी उसले टाइप गरेको मात्र चित्र कोर्थ्यो। कानमा उस्को कि बोर्ड्को टुक टुक आवाज ठोकिन्थ्यो। धित मरुन्जेल उसको कम्प्युटर हेरेर म फर्के। मैले त्यो दिन कम्प्युटर, संचार बिज्ञान र इमेललाइ मन देखि धन्यबाद दिए मेरो फोन बिल कम गराइदिएकोमा।

होस्टेल फर्केर पौने २ थाल भात गोदेर म कोठातिर लागे। आइतबार टन्न भात गोदेर दिउँसो २-४ घन्टा सुत्नुलाइ बिध्यार्थिले आफ्नो अधिकार ठान्छन। म पनि पल्टिए। मनमा उहीँ इमेलकै तर्कना थियो। किन लाग्थ्यो र निन्द्रा? मेरो इमेल पठायो होला कि छैन? कहिले सम्म गाउले दाजुको अफिसको कम्प्युटरमा पुग्छ होला? घर कत्खेर पुग्छ होला? घरबात तेस्को जवाफ कहिले आउँछ होला? यहि तर्कनाले मन बेतोडले दैडियो। दिमागले भन्यो " लछुमने ठन्डा दिमागले सोच" । ठन्डा दिमागले सोच्न आफुलाइ चिया पिउनु पर्ने! चिया पिउदै सोचे आज आइतबार नेपालमा अफिस खुली हाल्न्छन। फेरि सरकारी अफिस जो हो र दाजुको? उनी ५ बजेसम्म डिप्टी बजाउछन। फोनै गरेर ५ बजे सोध्न मन लाग्यो। होस फोन गरेसी कुराकानी गर्नु परिगो। फेरि इमेल पुगेको रैन्छ भने पैसाको नास! सोचे रिस्क मोल्नु ठिक छैन। अन्तत: इमेल सोमबार अफिस गएपछी गाउले दाजुको हात परेछ। अनि प्रीन्ट भएर बेलुका घर पुगेछ। घर परिवारले मात्र नपुगेर पूरा गाउँका बुज्रुकले पालै पिलो हेरेछन पढेछन। यसरी आफुले नजानेको नबुझेको ईन्टरनेट र इमेल मार्फत फोनको बिल कस्न पाउँदा म खुसिले ढोका थुनेर तीन बित्ता उफ्रेर ननाचेको कहाँ हुं र?